लेखक/रचनाकार, शुक्रबार, २४ असार, २०७९
आमाको सपना
आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छविस
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनिस
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
तयो तिमी नै हौला भन्ने
मेरो यौवनभरीको सपना थियो !
जे होस् त्यो आउँछ
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
तयो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बास
त्यो आउनेछ, तिमी उठ्नेछौ !”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।”
“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !”
“आमाको सपना” कवितासङ्ग्रह कवि रिमालको एक मात्र कवितासङ्ग्रह हो । यसमा २८ वटा कविताहरू सङ्कलित छन् । यसै कृतिबाटै २०१९ सालमा ’मदन पुरस्कार’ जस्तो साहित्यिक सम्मान तथा पुरस्कार पाएका रिमालको यो कृति नेपाली साहित्यको लागि सञ्जीवनी नै हो भने पनि हुन्छ । माथि प्रस्तुत कविता उनको एकमात्र कविता सङ्ग्रहमा रहेको छ ।
राणाकालीन समयमा लेखिएको यस कवितालाई क्रान्तिको बिगुल फुक्ने कविता हो भनेर पनि चिन्दछन् ।