सन्तोष गहतराज, सोमबार, १० माघ, २०७८
पाल्पा- पाल्पाको रम्भा गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थासम्म आउजाउको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । सबै गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा स्वास्थ्य संस्थामा पु¥याई आमा र बच्चाको जीवन सुरक्षित बनाउन रम्भा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको हो । चालु आर्थिक वर्षबाट सुरु भएको महिला सुत्केरी एम्बुलेन्स सेवाबाट मंसिर महिनासम्म ९८ जना गर्भवती महिलाले सेवा लिएका छन् ।
गाउँपालिकाले पालिकाभित्रकै स्वास्थ्य संस्थाबाट सुत्केरी हुने महिलालाई आतेजाते दुवैतर्फको एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ, भने गाउँपालिकाभन्दा बाहिरको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको लागि एकतर्फी एम्बुलेन्स सेवाको सुविधा दिँदै आएको छ । चालु आर्थिक वर्षमा २५ जना सुत्केरी आमाले दुवै तर्फी र ७३ जना गर्भवती महिलाले एकतर्फी एम्बुलेन्स सुविधा पाएका छन् । गाउँपालिकाको विगत ४ वर्षदेखि ५ वटै वडामा उच्चस्तरीय ल्याव सेवासहित बर्थिङ सेवा सञ्चालन हँँदै आएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी आमाको लागि संघीय सरकारबाट २ हजार, ४ पटक गर्भजाँच गराउने महिलालाई थप ८ सय रुपैयाँ र गाउँपालिकाबाट सुत्केरी आमा पोषण कार्यक्रमबाट १ हजार ५ सय रुपैयाँ गरी ४ हजार ३ सय रुपैयाँ सहयोग दिने गरिन्छ ।
सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर सुत्केरी भएको ३ दिन र ७ दिनमा नर्ससहितको सेवा प्रदान गर्दै आएको छ । रम्भा गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेपछि ३ वर्षको अवधीमा गाउँमा सुत्केरी भएको एक वर्षसम्म कुनै आमा र बच्चाको मृत्यु नभएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शिव अर्यालले बताए । आर्थिक वर्ष २०७६-०७७ मा ३०६ जना, ०७७- ०७८ मा ३०१ जना महिला सुत्केरी भएका छन् । गाउँपालिकाले प्राथमिक स्वास्थ्य उपचार केन्द्र ताहुँ, स्वास्थ्य चौकी हुँगी र स्वास्थ्य चौकी पिपलडाँडाबाट गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले अन्य दुई वडा हुमिन र फोक्सिङ्गकोट स्वास्थ्य चौकीमा पनि एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अधिकांश रोगहरू पहिचानको लागि विभिन्न ल्याव परीक्षण गर्नुपर्ने भएकोले पालिकाले सबै वडाका स्वास्थ्य चौकीहरूमा निःशुल्क ल्याव परीक्षण सेवा सञ्चालनमा छन् । ३ वटा स्वास्थ्य संस्थामा डिजिटल एनालाइजर प्रविधिबाट ल्याव सेवा सञ्चालन हुने गरेको छ, भने वडा नंं. ३ पिपलडाँडा, वडा नंं. २ फोक्सिङकोटमा एनालाइजर ल्याव सेवा थप्ने अन्तिम तयारीमा रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाको वडा नंं. ५ ताहँु प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा मात्र ल्याव सेवा रहेकोमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो काम ५ वटै स्वास्थ्य संस्थामा निःशुल्क ल्याव सञ्चालन गरी गाउँकै स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरिएको हो । गाउँपालिकाले वडा नंं. ५ ताहँु, वडा नंं. १ हुँगीमा मेडिकल अधिकृत चिकित्सकसहितको सेवा सञ्चालन गर्दै आएको छ, भने प्रत्येक वडामा एक-एक वटा गरी पाँच वटा स्वास्थ्य इकाई र एक वटा आयुर्वेदिक औषधालय थप गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए । सबै स्वास्थ्य संस्थाहरूमा केन्द्र तथा प्रदेश संरचनाबाट कमी भएका जनशक्तीहरू गाउँपालिकाले करारमा नियुक्त गरी स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि सुरु गरेको निःशुल्क ल्याव सेवाबाट आ.व. २०७४÷०७५ मा १२३८ जना, आ.व. २०७५÷०७६, मा २०४४ जना, आ.व. २०७६÷०७७ मा ५०१२ जना, आ.व. ०७७÷०७८ मा ६५०२ जना र चालु आ.व.मा ३४०१ जनाले निःशुल्क ल्याव सेवा लिएको स्वास्थ शाखा प्रमुख अर्यालले बताए । गाउँपालिकाले आमा र बच्चाको जीवनलाई सुरक्षित बनाउन, आमा सुरक्षा न्यानो झोला वितरण, गर्भवतीको घरमा हरियो झण्डा राख्ने, स्वास्थ्य संस्थाबाट सुत्केरी हुने समय नजिकै गर्दा निरन्तर निगरानी बढाउने, सुत्केरी हुने मिति तोकिएका गर्भवती महिलाहरूको लागि घर–घरमै स्वास्थ्यकर्मी पठाई निगरानी गर्दै आएको छ । ४ पटकको गर्भजाँचमा गर्भवती महिला तथा अभिभावकलाई पोषण, सुरक्षा तथा तयारीका विषयमा स्वास्थ्य संस्थाले तालिम परामर्श सचेतना कार्यक्रम नियमित गर्दै आएको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन ।
पालिकाले दिर्घरोगी सुगर, ब्लड प्रेसर, कोलेष्टोर, मुटुरोगीहरू तथा वृद्धवृद्धाहरूलाई निःशुल्क रूपमा घर–घरमै औषधि सेवा प्रदान गर्ने गर्दछ छ । कोभिड लकडाउनको समयमा नियमित औषधि सेवन गर्दै आएका सबै किसिमका दिर्घरोगीहरूलाई वडा–वडाबाटै औषधि खरिद गरी घर–घरमै पुर्याउँदै आएको थियो । कोभिडको समयमा १ हजार ६ सय ७३ जना दिर्घरोगीलाई घर–घरमै औषधि सेवा दिएको थियो ।