लेखक/रचनाकार, शनिबार, २९ माघ, २०७८
आमा ! तिम्रो पीडा होइन यो आजको कथा
निको नहुने गरी लागेको पुरानो हो यो व्यथा ।।
तिमीलाई लुछ्दा तिमीलाई चिछर्दा
मुक बनेर बसे दर्शक बने हेरे
बादल फाटेर कयौ आकाश खुल्दा
तिम्रो बलात्कारको चिच्याहट सुनेरै बसे ।।
न नेता न तिनका कार्यकर्ता
आवाज निकाल्ने साहस भएन कसैमा
मादलको धुन बजिरह्यो यता र उता
नाच्न छोडेर तिमीलाई बचाउने भएन आंट कसैमा।।
अविरल आशु पानी सरी बगिरहे
बरु त्यही बेचेर धनी उनीहरु नै भए
तिम्रा बलात्कारीका जुत्तामा पालिस टल्काईरहे
तिम्रा घाउमा मलम लगाउने शहीद भए।।
सिमाना मिचियो विवाद न कहिले सुल्झियो
भागी खाने भांडो बनेरै यो आफैमा गुम्सिरह्यो
तिम्रो घाउ खोई कसलाई दुखिरह्यो
तिम्रो लागि आवाज उठाउनेको बोली किन सुकिरह्यो?
आमा! तिम्रो पीडा होइन यो आजको कथा
निको नहुने गरी लागेको पुरानो हो यो व्यथा ।।