सन्तोष गहतराज, बिहीबार, ९ चैत्र, २०७९
पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिकाले यो वर्षदेखि मकै उत्पादनमा वृद्धि गर्नका लागि मकै उत्पादक कृषकलाई नयाँ प्रजातिको बीउ वितरण सुरु भएको छ ।
रिब्दीकोट गाउँपालिकाको आ.व. २०७९/०८० को लागि संघिय सरकार बित्तिय हस्तान्तरण तर्फको "खाधान्न बालिको उन्नत विउ उपयोगमा अनुदान" कार्यक्रम मार्फत वडा न ७ पालुङ्ग मैनादीका २ सय २० जना कृषकलाई बीउ वितरण गरिएको हो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिव कुवरका अनुसार ५०% अनुदानमा १ हजार ७ सय ६० किलो मकैको मनकामना ३ र ६ (प्रमाणित विउ ) रिब्दिकोट ७ पालुङ मैनादिका कृषकहरुलाइ वितरण गरिएको बताउनुभयो । उन्नत जातको बीउ मार्फत कृषकहरूको कृषि उपजमा वृद्धि गराई आत्मनिर्भर बनाउने उधेश्यका साथ कृषकहरूलाई विउ वितरण गरिएको बताउनुभयो ।
रिब्दीकोट गाउँपालिका वडा न ७ का वडा अध्यक्ष दान बहादुर कुवरले परम्परागत खेती प्रणालीलाई विस्थापित गरी मकै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उन्नत जात मकैको बिउ वितरण गरीएको र उत्पादनमा वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । वडाको अधिकांश क्षेत्रमा मकैखेती हुँदै आए पनि परम्परागत बीउबिजन भएका कारण कृषकले चाहेजस्तो मकै उत्पादन गर्न सकेका छैनन् । खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक आयस्तर बृद्धि गराउन मकैको बिउ वितरण गरिएको बताउनुभयो ।