भैरब खबर डटकम संवाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०
पाल्पा — घरेलु दर्शकको साथ पाएको पाल्पा–११ लाई १–० गोलले हराउँदै फोर ब्रदर्स फुटबल क्लब पश्चिम नवलपरासी सेमिफाइनल प्रवेश गरेको छ ।
तानसेनमा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गतको खेलमा फोर ब्रदर्सका कृपा चौधरीले दोस्रो हाफको ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चर्को घामका बीच रक्षात्मक खेले पनि पहिलो हाफमा दुबै पक्षबाट गोल हुन सकेन । दुबै टिमले आफ्नो पक्षमा गोल गर्ने प्रयास पटक-पटक गरे पनि सफल भएनन् ।
म्यान अफ द म्याच फोर ब्रदर्स पश्चिम नवलपरासीका मेन फिल्डर एलिस मगर भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाए । शनिबार होराइजन फुटबल क्लब वालिङ स्याङ्जा र २८ बिघा पूर्व नवलपरासीबीच दोस्रो क्वार्टरफाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका महासचिव सुजन थापाले बताए । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख, पाल्पाली करुवा ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फा पाल्पाले जनाएको छ ।