सन्तोष गहतराज, बिहीबार, १८ जेष्ठ, २०८०
पाल्पा-पाल्पाको रैनादेबी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले बिहिवार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितताका लागि प्रत्येक घरघरमा पुगी नाम संकलन गरिएको र वडा खाेप व्यवस्थापन समितिकाे मातहमा वडा कार्यालयमा तथ्यांक पठाइएको थियाे । उक्त तथ्यांक वडा कार्यालयले प्रमाणिकरण गरे पश्चात् कुनै बालबालिका खाेप लगाउनबाट बन्चित नभएको तथ्यका एवम सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका
प्रमुख खनालले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रूक्माङ्गत भट्टराईले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकाहरूकाे भुमिकालाई कदर गर्दै सम्मान गरिएको बताउदै गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष भट्टराईले बताए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, जि.स.स. सदस्य विष्णू घिमिरे, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको आतिथ्यता रहेको थियो ।
गाउँपालिका अन्तर्गतका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडालाई पनि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन गरे बापत सागर रेगामी, मनोज राना, विष्णु बहादुर पौड्याल र शोभा पाण्डेलाई सम्मान गरिएको थियो ।